जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल

जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल

काठमाडौं ।नेकपा(माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् ।

मंगलबार काठमाडौंमा जनयुद्ध दिवस र पार्टीको विधान सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले जनयुद्धका कारण भएको परिवर्तनमाथि षडयन्त्र भइरहे को भन्दै जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरहरु एकताबद्ध हुनुपर्ने बताए । उनले जनयुद्धकै कारण मुलुकमा ठूलो परिवर्त भएको भन्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरुलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको बताए । उनले यसअघि भएका कर्मी कमजोरीको समिक्षा गरि माओवादी मोर्चालाई एकताबद्ध गर्न ढिलाई गर्न नहुने जिकिर गरे । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्त्वको रहेको र आगामी दिनमा पनि रहने उनले बताए। अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहेको छ।

पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादीले जनाएको छ । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले यसअघि नै पार्टी अध्यक्ष प्रचण्डलाई विधानको मस्यौदा बुझाएको थियो ।