

रुस, २२ असार । आजदेखि फिफा विश्वकप २०१८ को २१ औं संस्करणमा क्वाटरफाइनल खेलहरु हुँदैछन् । पहिलो खेलमा दुई पूर्व विजेता उरुग्वे र फ्रान्स भिड्दै छन्। उरुग्वे र फ्रान्स दुवैले प्रि क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
समूह चरणमा एक गोलमात्र खाएको फ्रान्सले भने कूल ४ गोल खाएको छ। अर्जेन्टिना विरुद्ध २ गोल गरेका पिएसजीका फरवार्ड किलिएन एम्बाप्पेसँगै एन्टोनी ग्रीमन, ओलिभर जिरुड जस्ता खेलाडी फ्रान्सको अग्रपङ्तिमा छन्। यस्तै पउल पोग्वा, कान्टे र मटुइडी वस्ता खेलाडी मिडफिल्डमा छन्।
उता बार्सिलोनाका फरवार्ड लुइस सुबारेज र एमबाप्पेसँगै पिएसजीमा खेल्ने एडिनसन कभानी उरुग्वेको मुख्य हतियार हुनेछन्। यी दुईको जोडी गोल गर्न माहिर छ। यस्तै एट्लेटिको मड्रिडका डिएगो गोडिनको नेतृत्वमा उरुग्वेको डिफेन्स लाइन मजबुत छ। फ्रान्स र उरुग्वे विश्वकपमा अहिलेसम्म ३ तथा समग्रमा ८ पटक भिडेका छन्। रसियामा यी दुई टोली चौथो पटक विश्वकपमा आमनेसामने हुन लागेका हुन्।
विश्वकपको ३ वटै खेलमा उरुग्वे अपराजित छ। सन् १९६६ को विश्वकपको पहिलो चरणमा उरुग्वेले फ्रान्सलाई २–१ ले हराएको थियो। २००२ र २०१० मा भएको समूह चरणको खेल भने गोलरहित बराबरीमा सकिएको थियो। अहिलेसम्मको ९ भेटमा उरुग्वे ३ पटक विजयी भएको छ भने फ्रान्सले १ खेलम त्र जितेको छ। बाँकी ४ खेल बराबरीमै टुङ्गिएको थियो। फ्रान्सले १९८५ को अर्टेमिओ फ्रान्सी कपमा उरुग्वेलाई २-० ले हराएको थियो।