पाकिस्तानमा आज आम निर्वाचन

पाकिस्तानमा आज आम निर्वाचन

काठमाडौं। दक्षिण एशियाली मुलुक पाकिस्तानमा आम निर्वाचनका लागि आज मतदान हुँदैछ ।

पाकिस्तानमा आम निर्वाचनमा १२.८५ करोड बढी मतदाताहरू रहेका छन् । पाकिस्तानको निर्वाचन आयोगले गत वर्षको डिसेम्बरमा निर्वाचन गराउने कार्यतालिका जारी गरेको थियो ।निर्वाचनको पूर्वसन्ध्यामा बुधबार पनि हिंसाका घटना भएका छन् । बलुचिस्तान प्रान्तमा निर्वाचन कार्यालयलाई लक्षित गरी दुई वटा बम विस्फोट हुँदा कम्तीमा पनि ३० जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।

यस निर्वाचनका लागि मात्रै करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पूर्व प्रधानमन्त्री इमरान खान जेलमा रहेकाले पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) चुनावमा सबैभन्दा ठुलो पार्टी बन्न सक्ने आकँलन गरिएको छ ।

खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का उम्मेद्वार सर्वोच्च अदालतले आफ्नो पार्टीको चुनावी चिन्ह क्रिकेट ‘ब्याट’ हटाउने निर्वाचन आयोगको निर्णयलाई समर्थन गरेपछि स्वतन्त्र रूपमा चुनाव लडिरहेका छन् ।

बिलावल भुट्टो-जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पनि प्रतिस्पर्धामा रहेको छ । बिलावल भुट्टो जरदारीलाई पार्टीले प्रधानमन्त्री पदको रुपमा घोषणा गरेको छ ।

७४ वर्षीय सरिफले बिहीबार हुने निर्वाचनमा कीर्तिमानी चौथो कार्यकाल प्रधानमन्त्री बन्ने लक्ष्य राखेका छन् ।