कांग्रेस केन्द्रीय सदस्यकाे नेतृत्वमा निषेधित क्षेत्र ताेडियाे

कांग्रेस केन्द्रीय सदस्यकाे नेतृत्वमा निषेधित क्षेत्र ताेडियाे

काठमाडौँ, २० असार । सरकारले माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेको एक हप्ता नपुग्दै निषेधित क्षेत्र तोडिएको छ । बुधबार नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा माइतीघर मण्डलामा जम्मा भएका कांग्रेस नेता कार्यकर्ताले निषेधित घेरा तोड्दै सरकारको विरुद्धमा चर्को नाराबाजी गरेकाथिए  ।

निषेधित क्षेत्र खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतका नारा लगाउँदै उनीहरुले माइतीघर मण्डला परिक्रमा गरेका थिए  भने प्रहरी र प्रदर्शनकारीबिच केहिबेर तनाव सिर्जना भएको थियो ।

नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहनुभएका नेता पौडेलको नेतृत्वमा विद्यार्थीहरुको समूहले निषेधित क्षेत्र तोड्ने चेतावनी दिँदै विरोध गरेको हो ।

प्रहरी परिचालन हुँदाहुँदै पनि उक्त क्षेत्रमा विरोधसभा गरिएको थियो । सरकारले शान्तिसुरक्षा र अमनचैन कायम गर्ने भनेर राजधानीका माइतीघर मण्डलालगायत स्थानमा आगामी साउन १ गतेदेखि विरोधसभा गर्न नपाउने गरी बन्देज लगाएकाे छ ।

नेता पौडेलले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने संविधानप्रदत्त अधिकारको ठाडो उल्लंघन गर्दै निषेधित क्षेत्रहरू तोकेर सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभयो । सरकारको ज्यादतीविरुद्ध काँग्रेसले देशव्यापी संघर्ष चर्काउने उहाँको भनाइ थियो ।

नेविसंघ महामन्त्री कुन्दन काफ्लेले युवा विद्यार्थीहरूको सशक्त आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । प्रहरी धरपकडमा परी निरञ्जन थापा, अर्वत खड्का लगायतका विद्यार्थी घाइते भएका नेविसंघले जनाएको छ ।