नेपालमा माघ २६ गतेदेखि नेपाल चरा उत्सव हुने

नेपालमा माघ २६ गतेदेखि नेपाल चरा उत्सव हुने

बुटवल।नेपाल चरा उत्सव माघ २६ गतेदेखि २८ गतेसम्म हुने भएको छ ।नेपाल चरा उत्सव नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा हुने भएको हो ।

चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतना सँग-सँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा उत्सव आयोजना गर्न लागिएको हो ।

चरा उत्सव कावासोती नगरपालिका-१३ मा तीन दिनसम्म सञ्चालन गरिनेछ ।नेपालमा आठ सय ९४ प्रजातिका पंक्षी पाइन्छन् । नवलपुर जिल्लाको नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास पाँच सय ६५ प्रजातिका चरा पाइन्छन् ।

नेपालमा विश्वमै दुर्लभ मानिएका ४३ प्रजातिका चरा पाइने गरेकामा नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास ३९ प्रजातिका चरा पाइन्छन् ।उत्सवको यो दोस्रो संस्करण हो । नेपालमा सन् २०१८ मा पहिलो पटक चरा उत्सव भएको थियो । उक्त उत्सवमा पाँच बुँदे घोषणापत्र जारी गरिएको थियो ।

पछि सन् २०१९ मा कास्कीको पोखरामा चरा उत्सव आयोजना गरिएको थियो । कोभिड-१९ का कारण रोकिएको उत्सव पुनः आयोजना गर्न लागिएको हो ।

विभिन्न देशका प्रतिनिधि सहभागी हुने

उत्सवमा जैविक विविधताको क्षेत्रमा काम गर्ने ३९ सङ्घसंस्थाका प्रतिनिधि, भारत, भूटान, श्रीलङ्का, मलेसिया, हङकङ, सिङ्गापुर, फिलिपिन्स, जापान, स्विजरल्यान्ड, अमेरिका, आयरल्यान्ड, बेलायतलगायत देशबाट प्रतिनिधिको सहभागिता रहनेछन् ।

उत्सवमा पक्षी पहिचान तालिम, ट्रेल प्याकेज, फोटो प्रदर्शनी, पंक्षीकला प्रतियोगिता, पंक्षी अवलोकन, गिद्धका गतिविधि अवलोकन, जङ्गल सफारी, लोक सांस्कृतिक प्रस्तुति, पंक्षीसँग गोष्ठी, कक्ष प्रदर्शनी, निःशुल्क स्वास्थ्य शिविरलगायत गतिविधि गरिनेछ ।

विभिन्न संघसंस्थाको समन्वय हुने

नेपाल चरा उत्सव पोखरा पंक्षी समाजको आयोजना, जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति र वल्ड एजुकेसन सोसाइटीको सह आयोजनामा सञ्चालन गर्न लागिएको हो ।उत्सवको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पंक्षी संरक्षण सङ्घले समन्वय गरेका छन् ।

उत्सवको मुख्य उद्देश्य चराको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नु रहेको नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेले जानकारी दिए ।उत्सवमा विभिन्न देशका प्रतिनिधिहरु समेत सहभागी हुने ‘वल्ड एजुकेसन सोसाइटी’ का अध्यक्ष टीकाराम गिरीले बताए ।