काठमाडौँ । प्रदेश सभाका पदाधिकारीलाई सवारीसाधन सुविधा र पारिश्रमिक बढाउनेलगायत ऐन संशोधनका लागि ल्याएको अध्यादेश फिर्ता नगरे कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेले जनाएको छ । मुख्यमन्त्री केदार कार्कीले आफू पदमा टिकिरहन एकै पटक सातवटा प्रदेश ऐन संशोधन गर्न अध्यादेश जारी गरेको भन्दै एमाले प्रदेश संसदीय दलले आपत्ति जनाएको हो ।
एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले तत्काल फिर्ता नलिए अध्यादेश फेल गराउन बाध्य हुने बताएका छन । उनले प्रदेशमा एक जना मात्रै सांसद भएको पार्टीलाई पनि गाडी सुविधा दिनसक्ने गरी ऐन संशोधन गर्नु आपत्तिजनक रहेको बताएका छन । अन्य प्रदेशमा नभएको अभ्यास प्रदेशमा अध्यादेशमार्फत गरिएको उनले बताए ।
कोशी सरकारले शनिबार अध्यादेशमार्फत प्रदेशका सातवटा ऐन संशोधन गरेको थियो । अध्यादेशबाट प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५, कोशी प्रदेश वातावरण संरक्षण ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, प्रदेश भवन ऐन २०७६, सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन, कोशी प्रदेश जनस्वास्थ्य ऐन २०७७, कोशी प्रदेश वन ऐन २०७७ र प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गरिएको छ ।
प्रदेश सरकारले माघ ६ मा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८०’ जारी गरी प्रदेश सभाका पदाधिकारीको परिभाषा संशोधन गर्दै थप सेवासुविधा दिने व्यवस्था गरेको थियो । यो व्यवस्थाले अब सबै दलका संसदीय नेता, प्रदेशसभामा रहेका पूर्वमूख्यमन्त्रीसहितले सवारीसाधन सुविधा पाउनेछन् ।
अध्यादेश फिर्ता नलिए समर्थन फिर्ता लिने र विशेष अधिवेशनको माग गर्ने तयारी गरेको एमालेले जनाएको छ । एमालेले समर्थन फिर्ता लिए केदार कार्की नेतृत्वको सरकार के होला भन्ने जोड घटाउ सुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बाट सभामुख निर्वाचित भइसकेको अवस्थामा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि खासै फरक नपर्ने बताइएको छ । यद्यपि एमालेको इसारामा राप्रपा पनि प्रतिपक्षमा आए प्रदेशसभा मध्यावधिमा जान सक्ने जानकारहरु बताउँछन् ।