१ सय ३ वर्षका वृद्धको ४९ वर्षकी महिलासँग बिहे, भिडियो भाइरल

१ सय ३ वर्षका वृद्धको ४९ वर्षकी महिलासँग बिहे, भिडियो भाइरल

काठमाडौं । भारतमा एक वृद्ध यतिबेला चर्चामा छन् । चर्चामा आएका वृद्धको उमेर १०३ वर्ष पुगिसेकको छ । उनी उमेरका कारण चर्चामा आएका होइनन् उनले केही महिनाअघि गरेको विवाहले उनी चर्चामा छन् । १०३ वर्षका एक जना वृद्धले बिहे गरेको समाचार यतिबेला भाइरल बनेको छ । एक्लोपन भगाउन भन्दै भोपालका ती वयोवृद्धले ४९ वर्षकी महिलासँग तेस्रो बिहे गरेका हुन् ।

वृद्धले आधाभन्दा कम उमेरकी बेहुली भित्र्याए

हबीब नजर उर्फ मंझले मियां स्वतन्त्रता सेनानी हुन् । उनलाई अर्को पद मिलेको छ, भारतीय संचारमाध्यम आजतकले मध्य प्रदेशको सबैभन्दा पाको बेहुला भनेको छ । स्वतन्त्रता सेनानी हबीबले आफू एक्लो भएको भन्दै एक्लोपन भगाउन आफूभन्दा आधाभन्दा कम उमेरकी बेहुली भित्र्याए । बेहुली फिरोज जहाँको उमेर ४९ वर्ष रहेको छ ।

१ सय ३ वर्षमा तेस्रो बिहे

हबीबको यो तेस्रो बिहे हो । हबिबको पहिलो पत्नीको तर्फबाट सन्तान थिएनन् । त्यसपछि उनले अर्को बिहे गरे । तर दोस्रो पत्नीबाट पनि उनले सन्तान सुख पाएनन् । दोस्रो श्रीमतीको २ वर्षअघि मृत्यु भएपछि उनी एक्लो भएका थिए ।

फिरोजसँग कसरी भयो बिहे ?

सुरुमा ४९ वर्षकी फिरोजले वयोवृद्धसँग बिहे गर्नका लागि अस्वीकार गरेकी थिइन् । फिरोज श्रीमानको मृत्युपछि फिरोज एकल जीवन बिताउँदै थिइन् । आफू पनि एक्लो अनि हबीब पनि एक्लो भन्दै पछि बिहेको लागि स्वीकृति दिइन् ।

सामाजिक सञ्जालमा भाइरल

यो बिहेबारे सामाजिक सञ्जालमा यतिबेला निकै चर्चा चलिरहेको छ । यो बिहे सन् २०२३ मा भएको हो । तर अहिले आएर भिडियो भाइरल भइरहेको छ । बेहुला र बेहुलीको उमेर र उमेर अन्तरका कारण पनि बिहेबारे चर्चा चुलिएको हो । बेहुली फिरोज जहाँको उमेर ४९ वर्ष रहेको छ । आइतबार बिहेको भिडियो सामाजिक सञ्जालमा शेयर गरिएको थियो । भिडियो शेयर हुने बित्तिकै भाइरल भयो । भिडियोमा हबीब बिहे गरेर बेहुलीसँग घर फर्किरहेका छन् । मान्छेहरुले उनलाई बधाई दिइरहेका छन् । हबीब मुसुक्क मुस्कुराउँदै सबैलाई धन्यवाद भनिरहेका छन् ।