पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले सोमबार पूर्वप्रधानमन्त्री खान र पूर्व विदेशमन्त्री शाह महमुद कुरेशीलाई १० वर्षको जेल सजाय सुनाएको हो ।

फेब्रुअरी ८ मा चुनाव

दक्षिण एशियाली मुलुक पाकिस्तानमा आउँदो ८ फेब्रुअरीमा आम चुनाव हुँदैछ । चुनावको पूर्वसन्ध्यामा एउटा महत्वपूर्ण राजनीतिक दलका नेता एवं पूर्वप्रधानमन्त्री इमरान खान र पार्टी उपाध्यक्ष समेत रहेका पूर्व विदेशमन्त्री कुरेसीलाई जेल सजाय सुनाइनुलाई षड्यन्त्रका साथ हेरिको छ ।

पूर्वप्रधानमन्त्री इमरान खानले भने यो आरोपको अस्वीकार गर्दै आएका छन् । उनले आफूमाथि लागेका सबै आरोप राजनीतिबाट निर्देशित भएको बताएका छन् । दुवै नेतालाई गोप्य दस्तावेज खुलासा गरेको आरोपमा सजाय भएको हो । कुरेशी इमरान खान प्रधानमन्त्री रहँदा विदेशमन्त्री थिए । कुरेशी खानको पार्टी पाकिस्तान तेहरिक ए इन्सफ पार्टीका उपाध्यक्ष हुन् ।

खानले पुनरावेदन दिन सक्ने

विशेष अदालतको फैसलाविरुद्ध इमरान खानले पुनरावेदन दिन सक्नेछन् । इमरान खानलाई यसअघि अर्को एक मुद्दामा समेत दोषी ठहर गर्दै तीन वर्ष जेल सजायको फैसला सुनाइएको थियो ।

यद्यपि उच्च अदालतले उनीमाथिको सजाय निलम्बन गरेलगत्तै गोप्य दस्तावेज चुहावट सम्बन्धी मुद्दामा उनलाई हिरासतमा लिइएको थियो । इमरान खान प्रधानमन्त्री भएका बेला मुलुकको गोप्य कुटनीतिक दस्ताबेज चुहाइएको आरोप उनीहरुमाथि थियो । उक्त सूचनाका कारण मुलुकको कुटनीतिक सम्बन्ध ध्वस्त हुन सक्ने भन्दै खानलाई आजीवन कैद वा मृत्युदण्डको सजाय माग गरिएको थियो ।