बेसिशहर । कम्युनिष्टहरुको वाम गठबन्धनको नाममा माओवादी केन्द्रबाट लमजुङ जिल्लामा प्रतिनिधी सभा उम्मेदवार बनेका देव गुरुङविरुद्ध आफ्नै पार्टीका नेता तथा कार्यकर्ता विद्रोहमा उत्रिएका छन् । त्यति मात्रै एमालेका पृथ्वी सुब्बा गुरुङ पनि देव गुरुङलाई हराउन सक्रिय भएका हुन् ।
सदरमुकाम बेसिशहरका माओवादी र एमालेका कार्यकर्ताहरूले बाहिरबाट नेता ल्याएर टिकट दिएको भन्दै असन्तुष्टि जनाएका हुन् । देव गुरुङविरुद्ध माओवादी मात्रै होइन एमालेका नेता तथा कार्यकर्ताहरू पनि उत्तिकै रुष्ट देखिएका छन् ।
देव गुरुङलाई लमजुङका मतदाताहरूले आयातित नेताका रुपमा लिएका छन् । आफ्नो मनाङ जिल्लाको विकास गर्न नसक्ने देव गुरुङले कसरी लमजुङको विकास गर्न सक्छन् भनेर प्रश्न गर्न थालेका छन् । मुख्यमन्त्रीको आश्वासन दिएर प्रचण्डले एमालेका पृथ्वीसुब्बा गुरुङलाई प्रदेश सभामा झारेपछि एमालेहरू झन् रुष्ट बनेका हुन् । एमाले र माओवादीका नेता तथा सांसदहरूले माओवादीका गुरुङलाई नेता मान्नुपर्ने अवस्था आएको छ । एमालेका पृथ्वीसुब्बाले पनि देव गुरुङलाई हराउन भित्रभित्रै सर्कुलर जारी गरेको उच्च स्रोतले जनाएको छ ।
मनाङ जिल्ला घर भएका देव गुरुङ पदका लागि एमालेको साथ पाएर सांसद बन्ने लोभका कराण लमजुङ झरेका हुन् । तर, देव गुरुङलाई लमजुङबाट एमाले र माओवादीका नेता तथा कार्यकर्ताहरूले नै हराउन सक्रिय भएका छन् । उता ४ नं. प्रदेशको मुख्यमन्त्रीको सपना देखेका एमालेका पृथ्वीसुब्बालाई पनि एमालेका नेताहरू नै हराउन सक्रिय भएको स्रोतको भनाइ छ । पृथ्वीसुब्बाले आफ्नो कार्यकालभरि कुनै पनि काम गर्न नगरेको मतदाताहरूको भनाई छ ।
एमालेका पूर्व सांसद जमिन्द्रमान घले र केन्द्रीय सदस्य मायानाथ अधिकारीले पृथ्वीसुब्बा गुरुङलाई हराउन कार्यकर्ताहरूलाई विशेष निर्देशन दिएका एमाले लमजुङका एक नेताले बताए । जमिन्द्रमान घले र मायानाथ अधिकारीले आफूहरूको राजनीति समाप्त पारेर पृथ्वीसुब्बा गुरुङ अगाडि बढेको भन्दै चरम असन्तुष्टि जनाउँदै आएका छन् ।