काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले सत्ता गठबन्धन तोड्ने प्रयास गरिरहेको बताएका छन् ।
आइतबार पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन तोड्न एमालेले अनेक उपाय लगाइरहेको बताएका हुन् । उनले एमालेले संसदमा नकारात्मक भूमिका खेलिरहेको आरोप लगाए ।
अध्यक्ष नेपालले २०७९ को निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरुमा केही केही फेरबदल आए पनि राजनीतिक अस्थिरता कायमै रहेको बताए ।
‘मुलुकको राजनीतिमा अझै पनि अस्थिरताका बादल मडारिरहेका छन्’, अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्,‘यसबिच आम निर्वाचन २०७९ को निर्वाचन परिणामले निर्माण गरेको राजनीतिक शक्ति सन्तुलनमा खासै परिवर्तन भएको छैन ।’
अहिले पनि संसदमा १२ वटा राजनीतिक दल कायम रहेको भन्दै उनले २०७९ को निर्वाचनपछि सरकारको समीकरण बदलिएर सात दलीय गठबन्धन कायम रहेको र प्रचण्ड नेतृत्वको सरकारले जनपक्षीय काम गरिरहेको बताएका छन् ।
प्रज्ञा भवन कमलादीमा जारी बैठकमा विधान संशोधनको प्रस्तावमाथि छलफलका लागि समूह विभाजन हुने बताइएको छ । साँझसम्म छलफल हुने महासचिव घनश्याम भुसालले बैठकमा जानकारी गराए ।
भोलि (सोमबार) बिहान ११ बजे बस्ने बैठकमा समूह छलफलको निष्कर्ष प्रस्तुत हुने भुसालले बताए ।