काठमाडौं, १८ असार । रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत डेनमार्कलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गरेको हो।
क्रोएसियालाई क्वार्टर फाइनलमा पुर्याउनका लागि गोलकिपर डेनियल सुबेसिचको उत्कृष्ट प्रदर्शन रह्यो । उनले सुटआउटको पाँच मध्ये तीन पेनाल्टी बचाएका थिए । चार जनाले पेनाल्टी प्रहार गर्दासम्म २–२ गोलको स्थितीमा रहेको अवस्थामा इभान राकिटिचले गोल गर्दै क्रोएसियालाई अन्तिम आठको बाटो देखाएका थिए ।
निर्धारित समय एक एक गोलको बराबरीमा सकिएको खेलको अतिरिक्त समयको अन्तिम समयमा क्रोएसियाले पेनाल्टी पाएको थियो । कप्तान लुका मोड्रिचले प्रहार गरेको सो पेनाल्टीलाई डेनमार्कका गोलकिपर क्यास्पर सेमाइकलले बचाएका थिए । त्यसअघि निर्धारित र थप गरिएको ३० मिनेटमा दुवै पक्षबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।