चिकित्सा शिक्षा विधेयकविरुद्ध कांग्रेस

चिकित्सा शिक्षा विधेयकविरुद्ध कांग्रेस

काठमाडौं, १७ असार। सरकारले उपत्यकामा मेडिकल खोल्न पाउने गरी ल्याएको चिकित्सा शिक्षा विधेयकको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले विरोध गरेका छन् ।

सांसद थापाले आइतबार प्रतिनिधिसभाको बैठकमा मेडिकल कलेज खोल्ने नाममा दलाल पुँजीपतिलाई रक्षा गर्ने गरी चिकित्सा शिक्षा विधेयक ल्याउन लागिएको भन्दै आपत्ति जनाए । कम्युनिस्ट परिभाषाअनुसारको दलाल पुँजीपतिको कलेज जसरी पनि खुलोस् भन्ने उद्देश्यका साथमा विधेयक ल्याइएको उनको आरोप थियो ।

विधेयक मेडिकल शिक्षाको हितभन्दा पनि राजनीतिक स्वार्थ भएका मानिसलाई मेडिकल कलेज खोल्न अनुमति दिने उद्देश्यले ल्याएको दाबी गरे । थापाले भने, ‘कम्युनिस्ट परिभाषाअनुसारको दलाल पुँजीपतिको मेडिकल कलेज जसरी भए पनि खुलोस् भन्ने उद्देश्यको साथ सदनमा चिकित्सा शिक्षा विधेयक ल्याइएको छ । प्रधानमन्त्रीको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छ ।’

सांसद थापाले डा. गोविन्द केसीको माग पूरा गराउन सरकारको ध्यानाकर्षण पनि गरे । ‘मेडिकल नभएका स्थानमा सरकारले मेडिकल कलेज खोलोस्, जनताका छोराछोरीले निःशुल्क मेडिकल शिक्षा लिन पाउन् र गाउँगाउँमा स्वास्थ्य सेवा पुगोस् भनेर माग राख्ने डा। गोविन्द केसीका माग जायज छन्, उनका माग पूरा गर्न म सरकारको न्यानाकर्षण गराउँछु,’ थापाको भनाइ छ ।