काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर जबराको अध्यक्षतामा बुधबार बसेको आयोगको बैठकबाट देहाय बमोजिम कार्यान्वयनका लागि नेपाल सरकार र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
निर्वाचनको व्यवस्थापनलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदान स्थल लगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै उक्त निर्वाचनको सन्दर्भमा सुरक्षा व्यवस्थापनलाई विश्वसनीय र भरपर्दो बनाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न, गराउन निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समिति गठन गरिएको प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।
बैठकले निर्वाचन आयोगले तयार गरेको मतपत्र ढुवानी कार्ययोजना बमोजिम गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध मिलाउनुपर्ने बताएको छ ।