काठमाडाैं । नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहसहित भ्रष्टाचार मुद्दामा दोषी ठहर दुई जनालाई अदालतले आज सजाय निर्धारण गर्दैछ । ११ पुसमा विशेष अदालत काठमाडौंले शाहसहित प्रहरीका पूर्वसई दीपेन्द्रप्रसाद पनेरुलाई क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत हुँदा ३३ लाख ३८ हजार अनियमितता गरेको आरोपमा दोषी ठहर गरेको थियाे ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले शाह र पनेरुलाई दोषी ठहर गर्दै सजाय निर्धारण गर्न २५ पुसका लागि पेसी तोकेकाे थियाे । अख्तियारले २० फागुन २०७६ मा यो मुद्दा विशेष अदालतमा दायर गरेको थियो । यो मुद्दाका आरोपित प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले भने सफाइ पाएका छन् । शाह मदन पुरस्कार विजेता साहित्यकार पनि हुन् ।