आज असार १५, दही चिउरा खाने र ‘मानो रोपेर मुरी उब्जाउने’ दिन

आज असार १५, दही चिउरा खाने र ‘मानो रोपेर मुरी उब्जाउने’ दिन

काठमाडौं, १५ असार । आज असार १५ अर्थात् १५ औं राष्ट्रिय धान दिवस । आजको दिनलाई मुठी रोपेर मुरी उब्जाउने दिनको शुरुवातको रुपमा पनि हेरिन्छ । आजको दिनलाई नेपाली किसानहरुले हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोप्दै मनाउने परम्परा छ । आजको दिन रोपाईं गरी दही चिउरा खानाले उत्पादनमा राम्रो हुने विश्वासका साथ आफ्नो खेतीपाती नहुनेहरु पनि अरुको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गर्ने प्रचलन छ ।

कृषि प्रधान देश भएकाले पनि सरकारले पनि आजको दिनलाई धान दिवसको रुपमा मनाउन थालेको छ। सरकारको आह्वानमा आज धान दिवस तथा रोपाईं महोत्सव पनि मनाईंदैछ । दिवसको अवसरमा आज कृषि मन्त्रालय तथा विभिन्न राजनीतिक दलले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् ।

२०६२ सालदेखि असार १५ लाई धान दिवसका रूपमा मनाउन थालिएको हो । १५ औं राष्ट्यि धान दिवसको नारा धान खेतीमा यन्त्रीकारण, उत्पादन लागतमा न्यूनिकरण तय गरिएको छ । धान दिवस मनाउँदै गर्दा धान खेतियोग्य ८ प्रतिशत खेतमा मात्रै यस बर्ष रोपाइ सकिएको कृषि मन्त्रालयले जनाएको छ । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ ।

नेपालमा पहिल्यैदेखि नै असार १५ लाई असारे भाका गाउँदै हिलोमा रमाउँदै धान रोप्न चलन सुरु भएको हो। नेपाली संस्कृतिमा असार १५ लाई ‘मानो रोपेर मुरी उब्जाउने’ दिनका रुपमा लिइन्छ।  २०६१ सालदेखि विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेसँग नेपालले पनि राष्ट्रिय धान दिवस २०६२ असार १५ गतेदेखि मनाउन सुरु गरेको हो।

नेपालमा मौसमका आधारमा चैते, बर्खे, भदैया, घैया, हिउँदे (बोरो) धानको खेती हुने गरेको मन्त्रालयले जानकारी दिएको छ। नेपालको ३७ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ। पानीको सुविधा पुगे ४६ प्रतिशत जमिनमा २ बाली धान खेती हुन योग्य जमिन भएको परिषद्को अध्ययनमा उल्लेख गरिएको छ।

नेपालमा आकाशेपानीको भरमा भने १५ प्रतिशत जमिनमा मात्र धान खेती हुन्छ। विश्वका १ सय १४ मुलुकमा धान उत्पादन हुने गरेको संयुक्त राष्ट्रसंघको एक अध्ययनमा उल्लेख छ। ती मुलुकका १६ करोड ३२ लाख हेक्टरमा ७४ करोड ७१ लाख मेट्रिक टन धान उत्पादन हुन्छ। सबैभन्दा बढी चीनमा धान उत्पादन हुनेगरे को छ। यसपछि भारत, इन्डोनेसिया, बगंलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल, जापान, भुटान र नेपाल रहेका छन्।