

रुस, १४ असार । रुसमा जारी विश्वकप फुटबलमा कोलम्बिया र एशियाली मुलुक जापान विश्वकपको समूह एचबाट विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका छन् ।
४ अंकसहित शीर्ष स्थानमा रहेको जापान आज पोल्याण्डसँग १–० गोलले पराजित भयो । अर्कोतर्फ कोलम्बियाले सेनेगललाई पराजित गरेपछि उसले ६ अंकसहित समूह विजेताका रुपमा छनोट भयो ।
पोल्याण्डसँग पराजित भए पनि जापानले समान ४ अंक रहेको सेनेगललाई पछि पार्दै नकआउट चरणमा पुगेको हो । सेनेगल र जापानको समान ४ अंक र गोल अन्तर पनि बराबर भएपछि फेयर प्लेका आधारमा जापान भाग्यमानी बनेको हो ।
बराबरी गरे पुग्ने खेल गुमाएसँगै सेनेगल २१ संस्करणकाे विश्व कपको समूह चरणबाट बाहिरिने १६ औं टोली बनेको छ । अाजकाे खेलमा पोल्यान्डका लागि जान बेन्डनारेकले ५९ औं मिनेटमा गोल गरेका थिए ।