सत्ता गठबन्धनले राष्ट्रिय सभामा एमालेसँग तालमेल नगर्ने

सत्ता गठबन्धनले राष्ट्रिय सभामा एमालेसँग तालमेल नगर्ने

काठमाडौं ।सत्ता गठबन्धनले राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल नगर्ने भएको छ ।

एमालेलाई पनि समेटेर निर्वाचनमा जाने चर्चा गठबन्धन दलभित्र भएको थियो । तर आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको हो ।गठबन्धनमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले एमालेसँग चुनावी तालमेलको सम्भावना सकिएको बताए । उनले भने, सत्ता गठबन्धनभित्रै सिट बाँडफाँटमा सहमति खोज्ने कुरा भएको छ।

आज साँझ बैठक बसेर फेरि छलफल हुनेछ । राष्ट्रिय सभाको १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ । संक्रमणकालीन न्याय टुंग्याउन एमालेको पनि साथ खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई पनि राष्ट्रिय सभामा समेट्ने प्रस्ताव गरेका थिए ।

तर अन्य दलहरुले सहमति नजनाएपछि गठबन्धनभित्रै तालमेल हुनेछ । गठबन्धनसँग सात वटै प्रदेशमा स्पष्ट बहुमत छ। खाली हुने २० सिटमध्ये एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

गठबन्धनबाहिर रहेर चुनाव लड्नुपर्ने भएपछि एमालेलाई जित्न कठिन हुने भएको छ। गठबन्धन एक ढिक्का भए एमालेले एक सिट पनि नजित्ने निश्चित छ ।