एमालेले राष्ट्रियसभाको १९ सीटमै उम्मेदवारी दिने

एमालेले राष्ट्रियसभाको १९ सीटमै उम्मेदवारी दिने

काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभाको १९ वटै सीटमा उम्मेदवारी दिने तयारी गरेको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा सिफारिस भएर आएका उम्मेदवारहरुबारे क्लस्टरअनुसार छलफल गरेको महासचिव शंकर पोखरेलले बताए ।

उनले भने, ‘उम्मेदवारको बिषयमा हामीले आज प्रारम्भिक छलफल गरेका छौं । हामीले २३ गते १९ सीटै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौं ।’

त्यसैगरी एमालेले भारतलाई नेपालमा सीधै खर्च गर्न दिने रकमको सीमा २० करोड पुर्‍याइएकोमा विरोध जनाएको छ । भारतसँग विभिन्न सम्झौता गर्दा प्रमुख प्रतिपक्षीसँग कुनै सरसल्लाह नभएकोप्रति पनि एमाले सचिवालय बैठकले असन्तुष्टि प्रकट गरेको हाे ।

महासचिव पोखरेलले प्रतिपक्षीलाई विश्वासमा लिएर भारतसँग डिल गर्नुपर्नेमा सरकार चुकेको बताए ।

उनले भने, ‘दुई देशको संयुक्त आयोगको बैठकमा के के छलफल र सम्झौता भए भन्नेमा प्रतिपक्षसँग परामर्श नगरिएकोप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ । राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वास लिएर मात्रै काम गर्नुपर्थ्यो ।’