काठमाडौँ, १४ असार । नेपाल वायुसेवा निगम (एनएसी) ले पहिलाेपटक वाइडबडी विमान नेपाल भित्र्याएको छ । एयरबस ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई कलसाइनको अन्नपूर्ण विमान निगम आज नेपाल आइपुगेको हो ।
नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । अाज विमानकाे पूजा-अाजासमेत गरिएकाे छ । २०७३ चैत २५ गते अमेरिकन लिजिङ कम्पनि एएआर कर्पोरेशनमार्फत् एयरबस ए ३३०–२०० सिरिजका दुई विमान खरिद सम्झौता भएको थियो । निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको हो । संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने समय सिमा राखेको छ । अन्नपूर्ण विमानलाई दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका स्थानमा उडाउने तयारी गरिएको नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।