

धादिङ, १४ असार । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा पाँचजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुईजना बेपत्ता भएका छन् भने सात घर पहिरोले पुरिएका छन् । पहिरोमा चारजना घाइते भएका छन् ।
दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया छोरी लक्ष्मी गुरुङ र ५ बर्षीया सरस्वती गुरुङको पहिरोमा परी मृत्यु भएको छ ।
त्यस्तै खनीयावास गाउँपालिका–४ का ६५ वर्षीय शमशेर घले र ६२ वर्षीया कोप्ची घलेको पनि पहिराले बगाउँदा मृत्यु भएको छ । उनीहरुको शव आज विहान पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरिक्षक रामबहादुर केसीले बताए ।