राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर जाने कांग्रेसको निर्णय

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर जाने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ। ललितपुरको सानेपास्थित पार्टी कार्यालय शनिबार सकिएको केन्द्रीय कार्य समिति बैठकले यस्तो निर्णय गरेको हाे ।

आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने यो निर्णयसँगै अब गठबन्धन दलसँग उम्मेदवारीबारे छलफल हुने बताए। ‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन कायमै राखेर जाने निर्णय गरिएको छ’, उनले भने, ‘उम्मेदवारीबारे गठबन्धन दलमा छलफल गर्छौँ। सत्ता गठबन्धनका दलहरूबीच सहमति जुटाएर साझा उम्मेदवार उठाउँछौँ।’

यो बैठकले अवसर नपाएकाहरूलाई राष्ट्रिय सभामा मौका दिने भएक छ। ‘अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म योगदान दिएर छुटेका नेताहरू र समुदाय तथा भूगोल मिलाएर उम्मेदवार उठाउँछौँ’, उनले पत्रकारहरूसँग भने।

विश्वकर्माले संसदीय क्षेत्रमा योगदान दिन सक्ने नेतालाई रोजिने पनि बताए। ‘संसदीय क्षेत्रमा योगदान दिन सक्ने, पार्टीप्रति वफादार स्वच्छ छविका, अवसरबाट बञ्चित र योग्यहरूलाई अवसर दिन्छौँ,’ उनले भने।