टेरामक्स प्रणाली खरिदको अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

टेरामक्स प्रणाली खरिदको अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । साथै यसमा भएको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन भनेको छ ।

लेखा समितिले टेरामक्स प्रणाली खरिदबारे बुधबार नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका अधिकारीहरुसँग छलफल गरेको थियो । समितिमा लामो छलफल र अनुसन्धानपछि बुधबार सिंहदरबारमा बसेको समितिको बैठकको निष्कर्ष सुनाउँदै समितिका सभापति ऋषिकेश पोखरेलले भने, ‘टेरामक्स खरिद प्रक्रियाको सबै काम हाललाई यथास्थितिमा राख्दै हालसम्म सम्पादित कार्यहरुको सुक्ष्म विश्लेषण तथा अनुसन्धान गर्दा यो प्रक्रियामा सैद्धान्तिक, नीतिगत र सर्वोच्च अदालतको परमादेश समेत उल्लंघन भएको समितिको ठहर छ । यसबारे शीघ्र अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउन समिति अख्तियारलाई निर्देशन गर्दछ ।’

समितिले खरिद प्रक्रियामा १५ प्रश्न उठाउँदै सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको छ ।