एमाले धनकुटा प्रदेश राजधानी बनाउन चाहँदैन : थापा

एमाले धनकुटा प्रदेश राजधानी बनाउन चाहँदैन : थापा

धनकुटा । उद्योग मन्त्री एवम् संयुक्त लोकतान्त्रिक गठबन्धनका धनकुटाका उम्मेदवार सुनिलबहादुर थापाले वामपन्थी दलहरुले धनकुटामा प्रदेश राजधानी बनाउन नचाहेको आरोप लगाएका छन् ।

मन्त्री थापाले धनकुटालाई प्रदेश राजधानी बनाउन चाहने धनकुटेली जनताको आकांक्षामा वाम दलहरु बाधक भएको आरोप पनि लगाए । उनले मुख्यगरी नेकपा एमालेले धनकुटालाई प्रदेश राजधानी बनाउन नचाहेको टिप्पणी गरे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले धनकुटामा आयोजना गरेको चुनावी विशेष कार्यक्रममा मन्त्री थापाले हालै पाख्रिवासमा सम्पन्न एमालेको प्रदेश नं. १ को भेलाले इटहरीलाई प्रदेश राजधानी बनाउन लिखित निर्णय गरेको दावी गरे । ‘एमालेको प्रदेश स्तरीय भेलामा त्यस्तो घात निर्णय हुँदासमेत धनकुटाका एमाले नेताहरुले केही बोलेनन्’ उनले भने, ‘यस्तो निर्णय हुँदा नबोल्नेहरुले धनकुटालाई प्रदेश राजधानी बनाउन सक्छन् भनेर कसैले विश्वास गर्न सक्दैन ।’

उनले एमालेले धनक्टालाई प्रदेश राजधानी बनाउन जतिसुकै रोके पनि रोक्न खोजे पनि धनकुटा १ नं. प्रदेशको राजधानी बनेरै छाड्ने ठोकुवा गरे । ‘हामी जसरी पनि प्रदेशको राजधानी धनकुटालाई नै बनाउँछौं, प्रधानमन्त्री शेरबहादुर देउवाजीले पनि बचन दिनुभएको छ’ उनले भने, ‘उहाँले त दिपायल बन्न सक्छ भने धनकुटा किन नहुनु भन्नुभएको छ । प्रधानमन्त्रीको कुरा कसरी अविश्वास गर्ने ? त्यसैले हामी त पूर्ण विश्वस्त छौं ।’

मन्त्री थापाले धनकुटा पूर्वाधार, भौगोलिक सुगमता र पहिलेको क्षेत्रीय कार्यालय भएको हिसाबले पनि प्रदेश नम्बर १ को राजधानी हुने जिकिर गरेका छन् । उनले धनकुटालाई प्रदेशको राजधानीन बनाउन वाम गठबन्धनका उम्मेदवारले घातक निर्णय गरिसकेकोले अब धनकुटालाई राजधानी लोकतान्त्रिक गठबन्धनले मात्रै बनाउन सक्ने जिकिर गरे ।

प्रदेश ‘क’ को उम्मेदवार एवम् नेपाली कांग्रेसका नेता मनोहर नारायण श्रेष्ठले पनि संविधान कार्यान्वयन, स्थिर सरकार र प्रजातन्त्रलाई बलियो बनाउन कांग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनले मात्रै गर्न सक्ने भएकोले अबको निर्वाचनमा जनताले यही गठबन्धनलाई विजयी बनाउने विश्वास दिलाए ।

उनले पनि धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउनेबारे सरकारले छिट्टै निर्णय लिने भन्दै यहाँको जनताले लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक बुहमतले विजयी गराउने बताए ।

कार्यक्रममा लोकतान्त्रिक गठबन्धनबाट प्रदेश ‘ख’ को उम्मेदवार बनेका फोरम नेता अर्जुनबहादुर थापाले पनि धनकुटा पहाडी जिल्ला भए पनि भौगोलिक हिसाबले सुगम जिल्ला भएको र यसअघि नै क्षेत्रीय कार्यालयको रुपमा स्थापित भएकोले पनि प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्ने बताए ।