शरणार्थी प्रकरण: टेकनाथ रिजालले बुझाए धरौटी, बुधबार छुट्ने

शरणार्थी प्रकरण: टेकनाथ रिजालले बुझाए धरौटी, बुधबार छुट्ने

काठमाडौं । पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले धरौटी बुझाएका छन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोग लागेका रिजाललाई उच्च अदालत पाटनले मंसिर १५ गते १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।उक्त आदेश भए पनि धरौटी बुझाउन नसकेपछि उनी कारागारमै बस्दै आएका थिए।

सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले उनी बुधबार छुट्न लागेका हुन्। रिजाललाई गत असार १ गते अन्य अभियुक्तहरूसँगै केन्द्रीय कारागार लगिएको थियो।रिजाललाई गत असार १ गते अन्य अभियुक्तहरूसँगै केन्द्रीय कारागार लगिएको थियो।

तर सोमबार र मंगलबार सरकारी कार्यालय बिदा परेका कारण रिजाललाई सम्पत्ति शुद्धिकरण र अख्तियारमा बुझाउन नसकिने भएकाले थुनामै रहने केन्द्रीय कारागार स्रोतको भनाइ छ ।

उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासले उनीसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो।

उनीसँगै थुनामा परेका हरिभक्त महर्जनले १५ लाख, हज समितिका अध्यक्ष शमशेर मियाँले १० लाख, पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीले १० लाख, रामशरण केसीले १५ लाख बुझाएर छुटिसकेका छन्।

साथै, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपले बुधबार ३० लाख रुपैयाँ धरौटी बुझाएर कारागारबाट थुनामुक्त भएका थिए।आशिष बुढाथोकीलाई पनि उच्च अदालतले साधारण तारेखमा राख्न आदेश दिएको थियो।उक्त इजलासमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई छाड्ने कि नछाड्ने भन्ने विषयमा दुई न्यायाधीशबीच राय बाझिएको थियो।