कृष्णप्रसाद भट्टराई दाग नलागेको राजनेता : कांग्रेस सभापति देउवा

कृष्णप्रसाद भट्टराई दाग नलागेको राजनेता : कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्मदिवस मनाउनका आइतबार केन्द्रीय पार्टी कार्यालयमा विमर्श कार्यक्रम आयोजना गरियो । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईको शताब्दी जन्मदिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । आदर्श राजनीतिक, विधिको शासन र किसुनजीको योगदान विषयक विमर्श सभा आयोजना गरियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले नख्खु जेलमा पहिलोपटक किसुनजीलाई भेटेको स्मरण गरे । देउवाले भने, ‘कहिले पनि हरेश नखाएको मानिस, कहिले पनि चिन्ता नगरेको व्यक्ति । उहाँ माथि कुनै दाग लाग्न सक्दैन’ । सभापति देउवाले भट्टराईमा कुनै लोभ नभएको र बदनामीले नछोएको व्यक्ति, राजनेता भएको बताए ।

कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा प्रजातन्त्र झनै सुदृढ हुने सभापति देउवाले विश्वास व्यक्त गरे । भट्टराई ‘शेन्स अफ ह्युमर’ भएको व्यक्ति भएको बताउँदै देउवाले कार्यक्रममा भट्टराईको बारेमा थप खोजनीति आवश्यक रहेकोमा जोड दिए । देउवाले गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्ने बताएका छन् । इतिहास फर्कन गाह्रो रहेको उल्लेख गदै देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको आवश्यकता औंल्याए ।

‘भट्टराईजीका बारेमा जति बोलेपनि पुग्दैन । उहाँ निर्लोभी, कुनैपनि बद्नामले नछोएको व्यक्ति, अत्यन्त त्यागी व्यक्ति हुनुहुन्थ्यो । वास्तवमा उहाँको विषयमा खोजिनीति हुनुपर्छ । उहाँको विश्लेषण हुनुपर्छ । उहाँको कुरा कितावमा लेख्नुपर्छ । यो कुरामा हामी लागेका छौँ । कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा अवश्य पनि मलाई विश्वास छ’, उनले भने, ‘हाम्रो पार्टी प्रजातन्त्रप्रति आस्थावान मात्रै होइन, प्रजातन्त्रलाई अझ सुदृढ गर्दै लगेर, गणतन्त्रलाई सुदृढ गर्दै लैजानका लागि र यो अहिले पनि विभिन्न किसिमका कुराहरु आइरहेका छन् । अहिले पनि गणतन्त्रलाई कमजोर गर्नेकुरा भइरहेको छ । यस्ता विषयमा हामीले ध्यान दिनुपर्छ । गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न हाम्रो मुख्य बाटो हो ।’