काठमाडौं । आज (आइतबार) देखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले त्यसको शुभारम्भ गरेका छन् । सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको प्रधानन्यायाधीश श्रेष्ठले पाटन उच्च अदालतबाट बिहान ११ बजे शुभारम्भ गरेका हुन् । स्वचालित पेशी तारेख सुरु भएपछि एसएमएसमार्फत जानकारी समेत उपलब्ध हुने जनाइएको छ ।
मुद्दा दर्ताको मिति, मुद्दाको मार्ग र अदालतमा रहेका मुद्दा सङ्ख्या तथा न्यायाधीशको उपलब्धताका आधारमा स्वचालित रूपमा तारेख उपलब्ध हुनेछ । गत भदौ ११ गतेदेखि प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गराएका थिए । त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराए ।
स्वचालित पेशी व्यवस्थापन भएपछि, अब कर्मचारीहरूले आफ्नो ईच्छा अनुसार तारिख तोक्ने हालको परिपाटीको अन्त्य हुन्छ र स्वचालित रुपमा तारिख दिइन्छ । स्वचालित तारिख तोक्दा कर्मचारीले तजविजी गर्ने र आफुखुसी तोक्ने गुनासो हट्ने अनुमान गरिएको छ । यसअघि उच्च अदालतमा गोला प्रथाबाट पेशी तोकिन्थ्यो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।