डडेल्धुरामा देउवाले सोधे–म प्रधानमन्त्री भए त रिसाउन पाउनु हुन्छ, ओली भए के गर्नु हुन्छ ?

डडेल्धुरामा देउवाले सोधे–म प्रधानमन्त्री भए त रिसाउन पाउनु हुन्छ, ओली भए के गर्नु हुन्छ ?

डडेल्धुरा । काँग्रेस सभापति शेरबहादुर देउवाले आफु फेरि प्रधानमन्त्री हुने बताएका छन् । आफ्नो गृहजिल्ला डडेल्धुरा पुगेर देउवाले जिल्ला वासीलाई आफुलाई फेरि प्रधानमन्त्री हुने मौका दिन अनुरोध गरे ।

देउवाले भने, ‘मलाई तपाईहरुले माया गर्दै आउनु भएको छ । तपाईहरुले दिएको अपार मायाका लागि धन्यवाद दिन मसँग शब्द नै छैन । तपाईहरुकै मायाले काँग्रेस पहिलो पार्टी हुन्छ । म फेरि प्रधानमन्त्री हुन्छु ।’

देउवाले कम्युनिष्ठ गठबन्धन प्रजातन्त्रविरुद्ध रहेको भन्दै काँग्रेसले जिते मात्रै भन्न र बोल्न पाइने बताए । आफुलाई फेरि प्रधानमन्त्री बन्ने अवसर दिन अनुरोध गर्दै उनले अगाडि भने, ‘म प्रधानन्त्री भएपछि रिसाउन पाउनु हुन्छ । भन्न पाउनु हुन्छ । यो भएन त्यो भएन भनेर गुनासो गर्न पाउनु हुन्छ । ओली प्रधानमन्त्री भए के भन्नु हुन्छ ?’

उनले विगतमा डडेल्धुरा जिल्लाको नाम नेपालमा पनि त्यति राम्ररी नचिनिएको भन्दै आफु प्रधानमन्त्री भएपछि देश विदेमा जताततै डडेल्धुराको नाम फैलिएको सुनाए ।

डडेल्धुराबाट भारत जान धनगढी–वनबासा हुँदै जाँदा समय र खर्च उत्तिकै लाग्ने गरेको भन्दै देउवाले अब डडेल्धुराकै जोगबुढाबाट सोझै महाकालीमा पुल हालेर भारत जाने बाटो बन्ने बताए ।

उनले भने, ‘अब धनगढी–वनबासा भएर भारत जानु पर्ने समस्या हट्छ । साझै जोगबुढाबाट जाने पुल बन्छ । भारतसँग सम्झौता भइसकेको छ ।’

यस्तै पञ्चेश्वर बन्ने पक्का भइसकेकाले यो आयोजना बनेपछि प्रदेश ७ को वेरोजगारीको समस्या समाधान हुने देउवाले बताए । यसले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान गर्ने देउवाको भनाई छ ।

कम्युनिष्ट गठबन्धनले जितेका खण्डमा एकतन्त्रीय तानाशाह आउने र बोल्न, भन्न र रुन नपाई देउवाको तर्क छ । उनले भने, ‘राणा शासन हटाएर प्रजातन्त्र दिलाउने काँग्रेसले आफैविरुद्ध पनि मुर्दावादका नारा लगाउन मिल्ने सुन्दर व्यवस्था ल्याइदिएको हो । कम्युनिष्ट शासनमा कसैसँग आँखा जुधाएर बोल्न त के कसैका सामु रुन समेत पाइँदैन । कम्युनिष्ट शासन डर र त्रासको शासन हो ।’

देउवाले  हिजो तपाईहरुलाई जबरजस्ती चन्दा असुलेर सताएका होइनन् भनेर स्थानीयलाई सोधे ? उस्तै उनले काँग्रेसले वेरोजगार युवालाई भत्ता दिने व्यस्था गर्न लागेको समेत बताए । देउवाले आफुहरुले घोषणापत्रमै पनि यो कुरा उल्लेख गरेकाले शीघ्र कार्यान्वयन हुने सुनाए ।