

चितवन, १२ असार । बर्षायाममा होस् या हिउँदनै किन नहोस् प्राय अवरोध सिर्जना भइरहने नारायणगढ-मुग्लिङ सडकखण्डमा आज बिहान पहिरो खसेपछि सडक पुन अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चारकिलो भन्ने ठाउँको टोपो खोलामा बिहान ५ः२० बजे पहिरो खसेर अहिले सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन/चार घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता शिव शर्मा आचार्यले बताउनुभयो ।
दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ जसका कारण सयौं यात्रुले सास्ती खेप्न बाध्य भएका छन् ।