रुसलाई हराउँदै उरुग्वे समूह विजेता

रुसलाई हराउँदै उरुग्वे समूह विजेता

दुई पटकको पुर्व च्याम्पियन उरुग्वे समूह विजेता बन्दै जारी विश्वकपको दोस्रो चरण पुगेको छ। समूह ‘ए’ अन्तर्गत आफ्नो तेस्रो तथा अन्तिम खेलमा सोमबार घरेलु टोली रुसलाई ३-० गोलले हराएको उरुग्वे लगातार तेस्रो जित हात पार्दै नकआउट चरण पुगेको हो।

सामारा एरिनामा घरेलु टोलीले खेलको दशौं मिनेटमै गोल खाएको थियो । यसअघि साउदी अरवबिरुद्धको जितमा गोल गरका लुइस स्वारेजले आज पनि सुरुआती गोल गरेका थिए ।

२३औं मिनेटमा उपहार गोलमार्फत उरुग्वेले अग्रता दोब्बर बनायो । डिएगो स्वारेजले डिबक्स बाहिरबाट गरेको शशक्त प्रहार क्लियर गर्न लाग्दा रुसका डेनिस चेरिचेभले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।

खेलको ३६औैं मिनेटमा रुस १० खेलाडीमा समेटियो । उसका डिफेण्डर इगर स्मोल्निकोभ दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिन बाध्य भए । त्यसपछि रुसले रक्षात्मक खेल्न बाध्य भयो ।

तर, खेलको अन्तिम समयमा एडिन्सन काभानीले गोल गर्न सफल भए । जारी विश्वकपमा पीएसजी फरवार्ड काभानीको यो पहिलो गोल हो ।

उरुग्वेले समूह ‘बी’को उपविजेता र रुसले समूह ‘बी’को विजेतासँग प्रतिस्पर्धा गर्ने छ। समूह ‘बी’मा दुई खेलपछि पोर्चुगल र स्पेनको समान चार अंक छ। इरानको तीन अंक छ भने मोरक्कोले अंक जोड्न सकेको छैन। समूहको अन्तिम खेलमा सोमबार राती पोर्चुगलले इरान र स्पेनले मोरक्कोको सामना गर्दै छ।