एसईईको रिजल्टमा लापरबाही, फेरियो हजारौं विद्यार्थीको नतिजा

एसईईको रिजल्टमा लापरबाही, फेरियो हजारौं विद्यार्थीको नतिजा

काठमाडौं, ११ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले शनिबार प्रकाशित गरेका नतिजामा आइतबार हजारौं विद्यार्थीको जीपीए बढेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।

पनिकाले तोकेका वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिबार प्राप्त गरेको जीपीए आइतबार बढेको हो । जीपीए बढेपछि विद्यार्थी, अभिभावक र शिक्षक अन्योलमा परेका छन् । कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए मात्रै देखायो ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्रावधिक त्रुटिले यस्तो भएको प्रतिक्रिया दिए । रेग्मीले नयाँ पत्रिकासँग भनेका छन्– हिजो र आज नतिजामा फरक परेछ । रिजल्ट अपलोड गर्दा समस्या भएको हो । वेबसाइटमा सिस्टम कम्पाटाबिलिटीमा त्रुटि हुँदा नतिजामा फरक परेको हो । एनटीसीले दिएको नतिजा ठीक छ । हाम्रो वेबसाइटमा त्रुटि भएछ ।

यही खबर अाजकाे कान्तिपुर दैनिकले पनि लेखेकाे छ । नतिजा सार्वजनिक भएको २४ घण्टापछि कार्यालयले नतिजामा त्रुटि भएको जनाएको हो । कार्यालयले आइतबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘नतिजाको वेबसाइटमा रहेको डाटामा प्राविधिक समस्या देखिएकाले पहिले ग्रेडसिट डाउनलोड गरिसकेका परीक्षार्थीले पुनः डाउनलोड गर्न अनुरोध छ ।’

आइतबार दिनभर विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयले ग्रेडसिट प्रिन्ट गर्दा फरक–फरक जीपीए आएपछि कार्यालयलाई जानकारी गराएका थिए । त्यसलगत्तै बसेको परीक्षा बोर्डको बैठकले त्रुटि सच्याउने निर्णय गरेको थियो ।विषयअनुसार ग्रेड प्वाइन्ट फरक पर्दा जीपीए बढेर आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।