रातदिन सरकार ढाल्ने कसरत भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

रातदिन सरकार ढाल्ने कसरत भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने कसरत भइरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार प्रेस सेन्टर नेपालका पदाधिकारीको तेस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताएका हुन् ।

‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त रातदिन एकथरीको खेल कसरत भइ नै रहेको छ’, उनले भने, ‘तर मैले हेर्दा र गठबन्धनका बैठकहरु सबै गर्दा केही हुनेवाला छैन ।’आफू प्रधानमन्त्री भएलगत्तै सत्ता गठबन्धनबारे विभिन्न टिकाटिप्पणी भएको भन्दै उने गठबन्धन केही नहुने जिकिर गरेका हुन् ।

उनले भने, ‘म प्रधानमन्त्री भएको भोलिपल्ट देखि नै गठबन्धन सरकारबारे विभिन्न टिकाटिप्णी भएको मैले नजिकबाट हेर्दै आएको छु । म प्रधानमन्त्री भएको पनि एकवर्ष पुग्न लाग्यो । सत्ता गठबन्धन दलहरूबिच एक वर्षको समीक्षा गर्दै अर्को वर्षको तयारी गर्छौं ।’