

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज नेपालले दोस्रो खेलमा अफगानिस्तानविरुद्ध खेल्दैछ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले फाइनलसम्म पुग्ने सम्भावना जीवित राख्न आइतबार जित्नै पर्छ।
नेपाल र अफगानिस्तानबीचको खेल, संयुक्त अरब ईमिरेट्स (यूएईस्थित) आईसीसी एकेडेमीको ओभल २ मैदानमा हुनेछ। खेल नेपाली समयानुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ। नेपाल र अफगानिस्तान दुवै पहिलो खेलमा पराजित भएका थिए।
शुक्रबारदेखि सुरु भएको एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। अफगानिस्तान पनि भारतसँग ७ विकेटले नै पराजित भएको थियो।
नेपालले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ । पहिलो खेलमा हारपछि शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न बाँकी दुबै खेलमा जित हात पार्नुपर्ने हुन्छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह बी मा युएई, जापान, बंगलादेश र श्रीलंका छन् । आजको अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले २०१५ देखि २०१८ सम्म अफगानिस्तानसँग ५ खेल खेलेको थियो । पाँचैं खेलमा नेपाली युवा टोली पराजित भएको थियो । पछिल्लो समय अफगानिस्तान नेपालमाथि हाबी हुँदै आएको छ । नेपालले दशकपछि अफगानिस्तानलाई हराउन सकेको छैन ।