चौरजहारी हत्या प्रकरण : प्रेमिकाका बाबु र दाजुसहित २३ जनालाई जन्मकैदको सजाय (नामसहित)

चौरजहारी हत्या प्रकरण : प्रेमिकाका बाबु र दाजुसहित २३ जनालाई जन्मकैदको सजाय (नामसहित)

रुकुम पश्चिम । तीन वर्षअघि अन्तरजातीय प्रेमका कारण पश्चिम रुकुममा ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय तोकिएको छ । जिल्ला अदालत रुकुम पश्चिमले सोमबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो ।

न्यायाधीश खड्गबहादुर केसीको इजलासले मुद्दामा अन्तिम सुनुवाइ गर्दै उक्त फैसला सुनाएको हो । साढे तीन वर्षअघि कथित उपल्लो जातकी एक युवतीसँगको प्रेमको विषयलाई लिएर नवराज विकसहित उनका ६ जना साथीको हत्या भएको थियो । हत्या अभियोगमा २३ जना पुर्पक्षका लागि कारागारमा थिए । घटनामा संलग्नताको आरोप लाग‍ेका ८ जनाले भने सफाइ पाएका छन् ।

जन्मकैद सजाय पाउनेमध्येमा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजु लगायत रहेका छन्।

यस्तै, नवराजकी प्रेमिका, उनका भाइ र आमालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। २०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका थिए । त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए ।

उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारमा भेटिएको थियो । घटनामा नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।