

काठमाडौं, १० असार । रुसमा जारी २१ संस्करणको विश्वकप फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि सकिँदैछन् । दोस्रो चरणका अहिलेसम्मको नतिजाअनुसार रुस, उरुग्वे, फ्रान्स र क्रोएशियाले नकआउट चरणमा स्थान बनाइसकेका छन् ।
समूहको दोस्रो चरणको अन्तिम ३ खेल आज हुनेछ । साँझ पौने ५ बजे समूह जी का इंग्ल्याण्ड र पानामा भिड्दैछन् । पहिलो खेलमा जित हासिल गरेको इंग्ल्याण्डले यस खेलमा पानामालाई हराएमा नकआउट चरणमा पुग्नेछ । आजै हुने अर्को खेलमा एशियाली टोली जापान र सेनेगल पौने ९ बजे भिड्दै छन् । पहिलो खेलमा कोलम्बियालाई हराउँदै ३ अंक जोडेको जापानले यो खेलमा पनि जित हात पार्दै समुह चरण पारको सहज बाटो रोज्नेछ भने पोल्याण्डसँग पराजित सेनेगल जापानलाई हराउने दाउमा हुनेछ ।
त्यस्तै आजै हुने अन्तिम खेलमा राति पौने १२ बजे पोल्याण्ड र कोलम्बिया भिड्नेछन् । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन । पहिलो खेलमा कोलम्बिया जापानसँग र पोल्याण्ड सेनेगलसँग पराजित भएका थिए ।