उत्तराखण्डको सुरुङमा फसेका ४१ जना मजदुरको १७ दिनपछि जीवितै उद्धार

उत्तराखण्डको सुरुङमा फसेका ४१ जना मजदुरको १७ दिनपछि जीवितै उद्धार

एजेन्सी । विगत १७ दिनदेखि उत्तराखण्डको उत्तरकाशीस्थित सिल्क्यराको निर्माणाधीन सुरुङमा फसेका ४१ जना कामदारको सकुशल उद्धार गरिएको छ। उत्तराखण्ड सरकारले यसको पुष्टि गर्दै उद्धार कार्यको १७औँ दिनमा सबै कामदारलाई सकुशल बाहिर निकालिएको बीबीसीले जनाएको छ।

बाहिर निकालिएका मजदुरलाई मुख्यमन्त्री पुष्कर सिंह धामीले भेट गरेका छन्। उनीहरूलाई एम्बुलेन्सबाट सिधै चिनयालीसौरको स्वास्थ्य केन्द्रमा लान लागिएको छ। त्यहाँ सरकारी चिकित्सकको निगरानीमा उपचार हुने बताइएको छ।

कसरी फसेका मजदुर ?
यो दुर्घटना करिब १७ दिन अघि दीपावलीको दिन भएको थियो। काम गरिरहेको बेलामा सुरुङ भित्र उनीहरू ६० मिटर लामो पर्खालमा फसेका थिए। त्यसपछि क्रमशः भग्नावशेष हटाउने काम सुरु भयो। यस प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहयोग लिइएको थियो।