कोशीमा एमाले र राप्रपाका सांसदले गरे बजेट प्रतिस्थापन विधेयकको विरोध

कोशीमा एमाले र राप्रपाका सांसदले गरे बजेट प्रतिस्थापन विधेयकको विरोध

विराटनगर । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा कार्यक्रम तथा बजेट कटौती भएपछि नेकपा एमाले र राप्रपाले संयुक्त रूपमा विरोध जनाएको छ ।

प्रदेशसभाको आजको बैठकको कारबाही सुरू हुनासाथ दुई दलका सांसदहरूले उठेर विरोध जनाएका छन् । सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न प्रमुख विपक्षी एमालेलाई समय दिए । एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै सदन अवरोध गरे ।

उनले भने, ‘एक वर्षमा पाँच पटक सरकार फेरियो । बजेट निर्माण गर्दा छलफल हुनुपर्ने थियो । सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यस्थापन गर्दा ध्यान दिन पर्दथ्यो । प्रतिपक्षी सांसदहरूको सुझाव समेटिनुपर्थ्यो त्यो भएन ।’

सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएको भन्दै उनले प्रतिस्थापन विधेयक पारित नभए के हुने ? भन्ने प्रश्न गरे ।

मुख्यमन्त्री कार्की नेकपा एमालेका सांसदहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सुरुमा एमालेलाई पनि सहभागी गराएका थिए । तर सहमति विपरीत माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएको भन्दै एमालेका मन्त्रीले १८ कात्तिकमा राजीनामा दिएका थिए । एमालेले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

विधेयक पेश गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका ५६ वटै क्षेत्रलाई सम्बोधन गर्ने गरी प्रतिस्थापन विधेयक ल्याएको बताएका थिए ।बजेट अध्यादेश प्रस्थिापन गर्न ल्याएको विनियोजन विधेयकमाथि हिजोदेखि छलफल भइरहेको छ ।