एनएसएलमा आज २ टिम झापा र इलाम भिड्दै

एनएसएलमा आज २ टिम झापा र इलाम भिड्दै

काठमाडौं ।काठमाडौंमा जारी दोस्रो संस्करणको एनएसएलमा यी दुई टोली आज सोमबार भिड्दा ‘इस्टर्न डर्बी’ खेल हुनेछ ।नयाँ टोली इलामले उद्घाटन खेलमै साविक विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो र पहिलो खेलमा १-० ले पराजित भयो । झापा एफसी र स्पोर्टिङ इलाम एफसी दुवै टोली नेपाल सुपर लिग (एनएसएल) मा नयाँ टोली हुन् ।यस्तै दुई टोलीका लागि यो पहिलो खेल हो ।

राष्ट्रिय टोलीका लागि हरिक खड्का र निराजन रायमाझीसँगै सर्वाधिक १३ गोल गर्ने कीर्तिमान बराबरी गरेका अन्जन विष्ट झापाको मार्की छन् । उनले पहिलो सिजन ललितपुर सिटी एफसीबाट कप्तानी गरेका थिए । यस सिजन अन्जन झापाको मार्की बनेका हुन् ।

झापाको टिममा अन्जनसँगै राष्ट्रिय टिममा रहेका योगेश गुरुङ, छिरिङ लामा र लकेन लिम्बु पनि छन् । लकेन विश्वकप छनोटमा यूएईविरुद्ध घाइते भएका थिए । केही समयअघि घरेलु मैदानमा यमनविरुद्ध भएको खेल गुमाए ।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका आभास लामिछाने झापाको आइकोनिक प्लेअरको रुपमा छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका सुमित श्रेष्ठ पनि यस टिममा छन् ।

सन्तुलित देखिएको झापाली टोलीको मुख्य प्रशिक्षकमा स्पेनका ओरिएल मोहडानो छन् ।झापाले विदेशी खेलाडीमा पनि स्पेनकै दुई जना अनुबन्ध गरेको छ । जसमा मिडफिल्डर फर्नान्डो कोजार टोरेस र फरवार्ड जोर्ज पेलाएज सान्चेज छन् ।

एनएसएल खेल्ने ९ टोलीमध्ये झापाले मात्र अफ्रिकन खेलाडी राखेको छैन । झापाको अन्य विदेशीमा सर्वियाका गोलकिपर स्टेफन क्युपिक, उज्वेकिस्तानका डिफेण्डर समादार ओचिलोभ र अमेरिकन धिरज थजाली मगर छन् ।