काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आजदेखि लागु हुनेगरी ३० दिनका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिए ।
मंसिर ७ को प्रदर्शनलाई मध्यनजर गर्दै उक्त क्षेत्रलाई निषेधित घोषणा गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम निषेधित क्षेत्र तोक्ने निर्णय भएको हो ।
प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।
नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टा छुट्टै घोषणा गरेका थिए । तर, प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने बताएको थियो । त्यसपछि उनीहरुलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएको छ ।
वैकल्पिक स्थानका रुपमा तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको छ ।