सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजारमा एक घर जलेर नष्ट भएको छ । आइतबार राती खाँदबारी १ स्थित नेपाली सेनाका ब्यारेक नजिकै शुकमाया राईको घरमा आगलागी हुँदा घर पुूर्ण रुपमा जलेर नष्ट भएको हो । लक्ष्मी पुजा गरेको दियोबाट आगो सल्केर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राती करिव ११ः४६ बजे सुतिरहेको अवस्थामा पुजा गरेको कोठाबाट आगो लाग्न सुरु भएको प्रहरीले जनाएको छ । पुजा कोठा बाहेकको अर्कै कोठामा सुतेकोले आगो फैलिसकेपछि मात्र थाहा पाएकोले कुनै पनि सामान निकाल्न नसकिएको परिवार श्रोतले जनाएको छ ।
घटना थाहा पाए लगत्तै नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रण गर्न खोजे पनि घर पूर्ण रुपमा जलेको छिमेकी नरेन्द्र राईले जानकारी दिनुभयो । राईको काठ र टिनबाट बनाईएको एक तले घर थियो ।