

काठमाडौं, ८ असार । रुसमा जारी विश्वकप फुटबलमा ब्राजिलले कोस्टारिकालाई हराउँदै प्रिक्वार्टर फाइनल पुग्ने लय समातेको छ । विश्वकप समूह ‘ई’ को तेस्रो खेलमा ब्राजिलले कोष्टा रिकालाई २-० ले हराएको हाे । ९० मिनेट पछि थप गरिएको समयमा फिलिपे काउटिन्हो र नेयमारले एक–एक गोल गरेर नायक बनेपछि ब्राजिलले सनसनीपूर्ण जीत निकाले छ ।
सेन्ट पिटर्सबर्गमा भएको खेलमा कोस्टारिकालाई २–० ले हराउँदै ब्राजिलले आफ्नो समूहमा चार अंक बनाएको छ । खेलमा ब्राजिल हावी भएपनि ९० मिनेटसम्म कोस्टारिकाले ब्राजिललाई गोल गर्नबाट रोकेको थियो । थपिएको समयको पहिलो मिनेटमा फिलिपे काउटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।खेल अवधिभर रक्षात्मक खेलेको कोष्टारिकाका लागि उसका गोलकिपर केलर नाभासले आकर्षक खेल खेलेका थिए । तर अन्तिम समयमा काउटिन्हाे र नेयमारका अगाडी उनकाे पनि केहि लागेन ।
आठ मिनेटको लामो थप समयको अन्तिममा नेयमारले उत्कृष्ट गोल गर्दै ब्राजिललाई जिताए । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग रोकिएको ब्राजिल यो जितपछि नकआउट चरण नजिक पुगेको छ । दुईमा पराजित कोस्टारिका भने एक खेल अगावै विश्वकपबाट बाहिरिएको छ ।