काठमाडौं।नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्व सांसद रेशम चौधरीलाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा भोलि बिहीबार बाट सुनुवाइ सुरू हुदैंछ ।
कैलाली जिल्ला अदालतले वि.सं. २०७५ फागुन ११ गते र उच्च अदालतले वि.सं.२०७७ पुस २ गरेको फैसलालाई सदर गर्दै सर्वोच्च अदालतले वि.सं. २०८० जेठ २ गते चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो ।
फैसला भएको १३ दिन पछि जेठ १५ गते गणतन्त्र दिवसको दिन पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी मिनाहा भई चौधरी रिहा भएका थिए । राष्ट्रपतिले रेशमलाई माफी दिँदा सर्वोच्च अदालको फैसलाको पूर्णपाठ आइसकेको थिएन ।
चौधरी रिहा भएपछि, टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कठायतले माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।
सर्वोच्चको पूर्णपाठ पछि असोज ३ गते संविधान दिवसको दिन घटनामा संलग्न रहेको आरोपमा कैलाली कारागारमा रहेका तीन जना र पोखरा सुधार गृहबाट १ जना आम माफी पाएर रिहा भए ।मङ्गलबार शारदाले कैलाली कारागारबाट रिहा भएका तीन जना विरुद्ध पनि रिट दर्ता गरेकी छन् ।
वि.सं. २०७२ भदौमा कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको निर्मम हत्या भएको थियो ।