

काठमाडौं , ८ असार । विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ । यससँगै लियोनल मेस्सीको टिम समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । क्रोएसिया भने समूह डीबाट नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ ।
क्रोएशियाबिरुद्धको अर्जेन्टिनाको प्रदर्शन विर्सनलायक रह्यो । उपाधि दावेदार अर्जेन्टिना क्रोएशियासँग ३-० गोलले पराजित भयो । उसका लागि रेविक, राकिटिक र मोड्रिकले एक एक गोल गरे । अर्जेन्टिनाले निज्नी नोभोगाड रंगशालामा बिहीबार राति निक्कै कमजोर प्रदर्शन गर्यो । बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी पूरै असफल देखिएको खेलमा पहिलो हाफ बराबरी खेले पनि दोस्रो हाफको सुरुमै क्रोएशियाले अग्रता लियो ।

अब अर्जेन्टिनाको विश्वकपको यात्रा उसकाे पाेल्टामा छैन । जितसँगै क्रोएशियाको ६ अंक भएको छ भने उसले नकआउट चरणको यात्रा पक्का गरेको छ । समूह डीमा २ खेलबाट अर्जेन्टिनाको १ अंक छ । आइसल्याण्डको १ अंक छ र नाइजेरिया अंकबिहीन छ । अाज नाइजेरिया र आइसल्याण्डबीचको खेलले अर्जेन्टिनाको भविश्य निर्धारण गर्नेछ । त्यतिले मात्र पुग्दैन समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराउनैपर्छ । अाज आइसल्याण्डले नाइजेरियालाई हरायो भने अन्तिम खेलमा क्रोएसियासँग बराबरी खेल्दा नकआउट चरणमा पुग्ने झिनाे अाशा भने बाँकी छ ।