भूकम्प अपडेट : जाजरकोटमा परकम्पको संख्या ३९७ पुग्यो

भूकम्प अपडेट : जाजरकोटमा परकम्पको संख्या ३९७ पुग्यो

काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गत शुक्रबार राति गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन । गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो ।

‘रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि त्यसको परकम्प जानेक्रम रोकिएको छैन । त्यसयता रामीडाँडा र त्यसको आसपासमा परकम्प गइरहेको छ,’ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भन्यो, ‘शुक्रबार राति ११:४७ बजेको भूकम्पपछि ४.० म्याग्निच्युडभन्दा माथिका ९ वटा परकम्प गइसकेको छ ।’

केन्द्रका अनुसार शुक्रबार यता साना ठूला गरी ३९७ वटा परकम्प गइसकेको छ । ‘यो सोमबार ४:४० बजेसम्मको तथ्यांक हो । यसपछि पनि थुप्रै परकम्प गइसकेका छन् । तर रेकर्ड गर्न बाँकी छ,’ केन्द्रले भन्यो, ‘आज बिहान रेकर्ड गर्नेछौँ ।’

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतले परकम्प जानेक्रम नरोकिएको बताएको छ । ‘हिजो ४:४० बजेपछि पनि परकम्प गइरहेको छ । तर, आधिकारिक रुपमा रेकर्ड राख्न बाँकी छ,’ केन्द्रले भन्यो, ‘कम्तीमा परकम्पको संख्या ४१० पुगेको हुनुपर्छ । हामी बिहान ८ बजेसम्म आधिकारिक तथ्यांक राख्ने छौँ ।’ शुक्रबारको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको थियो । २५६ जना घाइते भएका छन् ।