भूकम्पको पीडा : काजकिरीयादेखि बास, सबै खुला आकाशमुनि

भूकम्पको पीडा : काजकिरीयादेखि बास, सबै खुला आकाशमुनि

काठमाडाैं । जाजरकोटमा भूकम्प गएको दुई दिन बित्दासमेत भूकम्प पीडित खुला आकाशमुनि रात काट्न बाध्य भएका छन् । शुक्रबार मध्यराति गएको भूकम्पले घर भत्काएपछि घरबारविहीन बनेकाहरू राहत सामग्रीको आशमा खुला चौरमा आगो तापेर रात बिताउन बाध्य भएका छन् ।

पुनः भूकम्प आउँछ कि भन्ने त्राससँगै खुला आकाशमुनि बस्नु पर्दा सुत्केरी महिला, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू समस्यामा परेका छन् । सदरमुकाम खलंगाका नागरिकले शीत र जाडो छल्ने त्रिपाल पाए पनि नलगाड नगरपालिका, भेरी नगरपालिका, कुशे गाउँपालिकाका ग्रामीण बस्तीका नागरिकले त्रिपाल पाएका छैनन् ।

सदरमुकाम खलंगास्थित माथिल्लो थाप्ले, पिपलडाँडा, वडानम्बर १ रावतगाउँ, मैदे, कोलचौर, रिम्नाबजार, नलगाड नगरपालिका–१ चिउरी, पाली, कल्पत र कुशे गाउँपालिकामा मानवीय क्षति हुनुका साथै भौतिक संरचनाहरू भत्कनुका साथै सम्पर्क विच्छेद भएको छ ।

सदरमुकाम खलंगाको माथिल्लो थाप्लेमा १ सय ५० वर्ष पुराना घर भत्किएपछि बिचल्लीमा परेका पीडितलाई राधामाधव समितिले त्रिपाल र खाने बस्नेको व्यवस्था गरेको छ ।

३२ जनाभन्दा बढीको मृत्यु भएको भेरी नगरपालिका–१ रावतगाउँका पीडितहरूचाहिँ त्रिपाल नपाएर खुल्ला आकाशमुनि बस्नुपरेको दलित अधिकारकर्मी दीपक नेपालीले बताउनुभयो । भूकम्प प्रभावित क्षेत्रमा विद्युत्, खानेपानी नहुँदा समस्या भएको छ ।

उपप्रमुख सरिता सिंहसहित ५५ जनाको मृत्यु भएको नलगाडका पीडितले त्रिपाल र राहत सामग्री नपाउँदा खुला आकाशमुनि बस्नु परेको नलगाड नगरपालिका–६ का भद्रबहादुर खड्काले बताए । भूकम्पले आफ्नो घर पूर्ण क्षतिग्रस्त भएको बताउँदै खड्काले भने– ‘घरमा एउटा त्रिपाल थियो । त्यही पाल लगाएर चौरमा परिवार बसेका छौं । सरकारले राहत सामग्री समयमा नपठाउँदा खुला आकाशमुनि बस्नुपरेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिचन्द्र शर्माले राहत सामग्री आइसकेको जानकारी दिँदै सोमबारसम्म भूकम्प पीडित परिवारले राहत सामग्री पाउने बताए । उनले थाप्ले, रावतगाउँ, मैदे, कोलचौरलगायतका भूकम्प प्रभावित परिवारलाई राहत वितरण गरेको बताएका छन्। यद्यपि, राधामाधव समितिका अध्यक्ष ओमप्रकाश राठौरले थाप्लेका पीडित परिवारले राहात सामग्री नपाएको गुनासो गरे ।

भूकम्पमा ५० वर्षीया आमा सितली रावल, ३२ श्रीमती कल्पना विष्ट रावल, १२ वर्षीया छोरी सन्ध्या रावल र २ वर्षीय छोरा गुमाएका दिवस रावल खुला आकाशमुनि क्रिया बसिरहेका छन् । उनले परिवार गुमाउनुपरेको पीडा त छँदै छ, समयमा राहत सामग्री नपाउँदा आफू थप पीडित बन्नुपरेको बताए।

नलगाड नगरपालिका–८ का लोकेन्द्र केसीले समयमा राहत सामग्री नपाएको र भूकम्पको त्रासले खुल्ला आकाशमुनि बस्नु परेको दुःख पोख्दै भने– ‘राहत सामग्री पाएपछि जाडो छलांैला भन्ने आशामा छु ।’ उक्त नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले पीडितको तथ्यांक आइसकेको जानकारी दिँदै सोमबारदेखि ग्रामीण बस्तीमा राहत वितरण गर्ने बताए।