प्रदेश १ मा कृषि क्षेत्रलाई दुई अर्ब ८५ करोड बजेट

प्रदेश १ मा कृषि क्षेत्रलाई दुई अर्ब ८५ करोड बजेट

काठमाडाैँ । प्रदेश नं १ को कूल गार्हस्थ्य उत्पादन रु ५२ अर्ब ५० करोडमा कृषि क्षेत्रको योगदान ४८ दशमलव ४ प्रतिशत रहेको छ । यस प्रदेशका जनताको प्रतिव्यक्ति आय एक हजार १२४ अमेरिकी डलर रहेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोद्वारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटमा उल्लेख छ । 

प्रदेशको कृषि उत्पादन वृद्धि गरी प्रदेशलाई आत्मनिर्भर बनाउने र अन्य प्रदेशमा आपूर्ति गर्ने उद्देश्यले आर्थिक वर्ष २०७५/७६ का लागि कृषि क्षेत्रमा रु दुई अर्ब ८५ करोड रकम विनियोजन गरिएको छ । प्रदेशमा कृषि उत्पादनको उचित भण्डारणका लागि तीनवटा शीत भण्डार निर्माण गरिने भएको छ । प्रदेशको बजेटमा “उत्पादन गरौँ, प्रदेश समृद्ध बनाऔँ” भन्ने नाराका साथ कृषिलाई पूर्ण व्यावसायीकरण र औद्योगिकीकरण गरिने उल्लेख छ ।