नेपाललाई हराउँदै यूएई च्याम्पियन

नेपाललाई हराउँदै यूएई च्याम्पियन

काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ । शुक्रबार फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै यूएईले सिरिज हात पारेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य यूएईले ६ विकेट गुमाएर १ बल अगावै पुरा गर्यो ।कप्तान समेत रहेको ओपनर मुहमद वासिमले २२ बलमा ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए । अर्का ओपनर आयांश शर्माले २५ र वृत्य अरविन्दले २६ रनको योगदान दिएका थिए ।

बसिल हमिदले अविजित २२ रन जोड्दै यूएईलाई जितसम्म डोर्याए । उनले अन्तिम बलमा चौका प्रहार गर्दै यूएईलाई जित दिलाएका हुन् ।नेपालका गुल्सन झा र अविनाश बोहराले समान २ तथा कुशल मल्लले १ विकेट लिए ।कीर्तिपुरको त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतीमा १ सय ६२ रन बनायो ।

ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए । आसिफ शेख ७, कुशल मल्ल १, रोहित पौडेल १८, दिपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५, गुल्सन झा ५, सोमपाल कामीले १३ रन बनाए ।करन केसीले १७ बलमा २३ रन बनाउँदै नेपालको इनिङ्सलाई केही उकासेका थिए । अविनाश बोहोरा शुन्य रनमा अविजित रहे ।यूएईका आयन खानले ३ तथा अली नासिर र जहुर खानले समान दुई विकेट लिए । जुनेद सिद्धीकीको नाममा एक विकेट रह्यो ।

नेपाल अपराजित रहदै सिरिजको फाइनल प्रवेश गरेको हो ।