

काठमाडौं । सेनेगल, रुस विश्वकपमा जित हात पार्ने पहिलो अफ्रिकन टिम बनेको छ । यद्यपि उसले पोल्याण्डमाथि हात पारेको २–१ को जित भने विवादरहीत रहेन । पहिलो हाफको ३७औं मिनेटमा पोल्याण्डका सिओनिकको आत्मघाती गोलमार्फत सेनेगलले अग्रता लिएको थियो । सेनेगलका स्ट्राइकरको प्रहार क्लियर गर्न लाग्दा उनले बललाई आफ्नै पोष्टको दिशा दिएका थिए ।
पहिलो हाफमा १ गोलको अग्रता बनाएको सेनेगलले दोस्रो हाफमा अग्रता बढायो । ६०औं मिनेटमा एमबाये नियांगले शानदार गोल गरेका थिए ।

खेलको नियमित समय सकिनु ४ मिनेटअघि पोल्याण्डका जर्ज क्रिचोइकले एक गोल फर्काए पनि ढिला भइसकेको थियो । खेलको अन्त्यतिर पोल्याण्डका ग्रजर्ज क्रेचोयाकले गोल गरेपनि टोलीको हार टार्न सकेनन् । रुस विश्वकपमा खेलिरहेका चार अफ्रिकन देशमध्ये इजिप्ट, मोरक्को र ट्युनिसियाले पहिलो खेलमा हार व्यहोरेका थिए । तर, दोस्रो पटक विश्वकप खेलिरहेको सेनेगलले जित निकाल्यो । जितसँगै समूह एचबाट जापान र सेनेगल विजयी हुँदा कोलम्बिया र पोल्याण्डले जितका लागि अर्को खेल कुर्नुपर्ने भएको छ ।