असार ५, काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा केन्द्रीय सभापतिको उद्घाटन मन्तव्य राख्दै सभापति देउवाले कम्युनिष्टको हातमा लोकतन्त्र कदापि सुरक्षित हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । नेपाली कांग्रेसले जनताका लोकतान्त्रिक हक अधिकारकालागि आफ्नो जन्मसंगै प्रारम्भ गरेको सात दशक लामो अबिरल संर्घष र बलीदानपूर्ण यात्रा र उपलब्धीहरूको महान गाथा इतिहासमा अंकित रहेकाले राष्ट्रिय जीवनमा यस्तो ऐतिहासिक भूमिका निर्वाह गर्ने कालजयी बिचार र पार्टीका निर्माणकर्ता महामानव बी.पी. कोईराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई लगायत सबै नेताहरूलाई श्रद्धापूर्वक स्मरण गर्दै हार्दिक श्रद्धान्जली समेत सभापति देउवाले व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारीको निरन्तरता स्वरुप कांग्रेसले पछिल्लो बाह्र वर्षमा निर्वाह गरेको भूमिकाबाट प्राप्त उपलब्धी सबै लोकतन्त्रवादीका लागि गर्व गर्न लायक छन् । देशले अन्यौल र अनिश्चितताको एक लामो संक्रमणकाल पार गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भए पश्चात संघीय संसद, प्रदेश सभा र स्थानिय तहको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्र्ण रुपले कार्यान्वयन भएको छ । एक दशक भन्दा लामो अस्थिर र अत्यन्त जटिल संक्रमणकालिन अवस्थावाट देशलाई डोर्याउदै शान्ति र लोकतन्त्रको राजमार्ग सम्म पुर्याउने कार्यमा नेपाली कांग्रेसले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको समेत सभापति देउवाले स्मरण गर्नुभयो ।
देशभरि शान्तिपूर्र्ण तवरले सबै तहका निर्वाचन सम्पन्न भई संविधानको पूर्ण कार्यान्वयन भयो । लोकतन्त्र र शान्तिमा विश्वास गर्ने सबैको विजय भएको धराणा राख्दै यस कार्यमा सहयोग गर्नु हुने पार्टीका सबै नेता कार्यकर्ता र आम नेपाली जनताका प्रति पनि सभापति देउवाले आभार प्रकट गर्नुृभयो ।
पछिल्लो निर्वाचनमा हाम्रो हारको कारण बारे केन्द्रीय कार्य समितिमा गम्भीर र सूक्ष्म रूपले छलफल भएको र दुई ठूला कम्युनिष्ट पार्टीहरूको चुनावी गठबन्धन हारको प्रमुख कारण देखिएको धारणा पनि व्यक्त गर्नुभयो । नेपाली कांग्रेसले पहिलेका निर्वाचनहरूमा प्राप्त गरेको मत प्रतिशत यथावत नै रहेको र लोकप्रिय जनमत कांग्रेसको पक्षमा नै रहेको खुलासा समेत गर्नुभयो ।
हामीले एउटा लडाइँ हारेका छौँ । मैदान हारेका छौनौँ । यो संविधानका आधारभूत तत्व वा मूल विशेषताहरू नेपाली काग्रेसका आदर्शवाट निर्देशित छन् । र यो संविधानको सफल कार्यान्वयनपनि कांग्रेसले नै गरेको हो । अहिले मुलुक थप संकटमा परेको छ । कम्युनिष्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन सक्दैन । कम्युनिष्ट लोकतन्त्रवादी हुन सक्दछन भन्ने भ्रम बाघ साकाहारी हुन्छ भन्ने जत्तिकै हो । सरकार सर्वसत्तावादी चरित्र तर्फ उन्मुख छ । गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेका छन । मूल्य बृद्धिले जनता आक्रान्त छन् ।
वर्तमान सरकार भाषणमा संघीयता र काममा कम्युनिष्टको जनवादी केन्द्रीयतातर्फ उन्मुख छ । के.पी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिवर्तन भएको छ । यस अवस्थामा संविधानको संरक्षण गर्ने, देशलाई कम्युनिष्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारीपनि कांग्रेसको काँधमा आएको धारणा व्यक्त गर्नुभयो ।
यो संविधानको संरक्षण गरी देशलाई शान्ति र प्रगतिको वाटोमा लैजाने कांग्रेसको लक्ष्य हो । कांग्रेसले सबै ठाँउमा जिम्मेवार तथा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्छ । एकताबद्ध, संगठित र व्यवस्थित कांग्रेसले नै यी जिम्मेवारी बहन गर्न सक्दछ । यस बारेमा आफू स्वयं गम्भीर भएको र सबै नेता साथीहरूलाई पनि गम्भीर हुन आग्रह गर्नुभयो ।
पराजय र कम्युनिष्ट पार्टीहरूको एकिकरणले चुनौति थपिएको छ । तर पनि आफू विचलित नरहेको र आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने प्रण समेत गर्नुभयो । जसका लागि सबै साथीहरूलाई एकजुट भई सहयोग गर्न समोत आव्हान गर्नुभयो ।