विश्वकप छनोट : लाओससँग नेपालको बराबरी

विश्वकप छनोट : लाओससँग नेपालको बराबरी

काठमाडौं । विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा दुवै टिमले १-१ गोल गरेका हुन् । खेलको ३३औं मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका थिए ।

उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्काउँदै गोल गरे । सुरुमा अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई बिट गर्दै गोल गरेका हुन् ।

तर ४९ ‌औं मिनेटमा अञ्जन विष्टले बराबरी गोल फर्काए । एरिक विष्टको कर्नरमा विष्टले हेडर गोल गरेर नेपाललाई हारबाट जोगाए ।

यो गोलसँगै अन्जनले नेपालबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरे । नेपालबाट १३औँ गोल गरेका अन्जनले हरि खड्का र निराजन रायमाझीको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

नेपाल र लाओसबीचको दोस्रो लेग १७ अक्टोबरमा लाओसमा हुनेछ । होम ग्राउण्डमा बराबरी खेलेपछि अब नेपालले विश्वकपको दोस्रो चरणमा पुग्न लाओसलाई उसको मैदानमा हराउनु पर्ने छ ।

लाओसमा हुने खेल गोलरहित बराबरी भएमा लाओस दोस्रो चरणमा पुग्ने छ भने २ गोल भन्दा बढीको बराबरीले नेपाल अघिल्लो चरणमा पुग्ने छ ।

यस खेलको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । जहाँ ९ समूहमा ४-४ टिम हुनेछ र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछ ।