विश्वकप फुटबल अन्तर्गत आजका खेलहरु (को–को भिड्दैछन् हेर्नुहोस्)

विश्वकप फुटबल अन्तर्गत आजका खेलहरु (को–को भिड्दैछन् हेर्नुहोस्)

काठमाडौं, ५ असार । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आजको पहिलो खेलमा जापान र कोलम्बिया भिड्दैछन् । चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा एउटै समुहमा परेका जापान र कोलम्विया रसिया विश्वकपमा पनि एउटै समुहमा छन् । यी दुई देशबीचको खेल नेपाली समय अनुसार आज साँझ ५ः४५ बजेदेखि सुरु हुनेछ ।

त्यसैगरी आजको दोस्रो खेलमा पोल्याण्ड र सेनेगल भिड्दै छन् । यी दुईबीचको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । फिफा वरीयतामा ८ औं स्थानमा रहेको पोल्याण्डले यसअघि सातपटक विश्वकप खेलेको छ भने दुईपटक सेमिफाइनलसम्म पुगेको छ । त्यस्तै, फिफा वरीयतामा २७औं स्थानमा रहेको सेनेगलले यसअघि सन् २००२ मा एकपटकमात्र विश्वकप खेलेको छ, जसमा सेनेगल क्वाटरफाइनलसम्म पुगेको छ । खेल नेपाल समय अनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

त्यसैगरी आजको अन्तिम खेलमा आयोजक रसिया र इजिप्ट भिड्नेछन् । यी दुईबीचको यो पहिलो अन्तरराष्ट्रिय खेल हो । जारी विश्वकपको उद्घाटन खेलमा रसियाले साउदी अरेबियाविरुद्ध ५–० को जित निकाल्दै सुखद शुरुआत गरेको थियो भने इजिप्ट आफ्नो पहिलो खेलमा उरुग्वेसँग १–० ले पराजित भएको थियो ।

एक खेल जितेर ३ अङ्क बनाएको रसिया लगातार दोस्रो जित दर्ता गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित बनाउने प्रयासमा हुनेछ भने पहिलो खेल गुमाएको इजिप्ट रसियालाई पराजित गरी अर्को चरण पुग्ने सम्भावनालाई जीवित राख्ने प्रयासमा हुनेछ । यसर्थ, यो खेल प्रतिस्पर्धात्मक हुने देखिन्छ । खेल नेपाली समय अनुसार राति ११ः४५ बाट सुरु हुनेछ ।